नवलपरासी, ६ बैशाख । जिल्लाको रामग्राम नगरपालिकास्थित बरुन वेभरेज कम्पनीका श्रमिकहरु आन्दोलित भएका छन् । राष्ट्रिय श्रमिक संघको नेतृत्वमा श्रमिकहरु आन्दोलनमा उत्रेका हुन् ।
सोमबारदेखि आन्दोलित भएका श्रमिकहरुले ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने, प्रतिष्ठानलो ट्रेड युनियनको स्वीकृति दिनुपर्ने, २४० दिनभन्दा बढी काम गरेका श्रमिकलाई प्रतिष्ठानले स्थायी नियुक्ति दिनुपर्ने, मानव संसाधन विभागमा सम्पूर्ण कर्मचारी नेपाली हुनुपर्ने, स्थायी कर्मचारीहरुको कन्फर्मेशन लेटर दिनुपर्ने माग राखेका छन् ।
यस्तै, प्रतिष्ठानमा काम गर्ने ८० प्रतिशतभन्दा बढी नेपाली श्रमिक हुनुपर्ने र श्रमिकहरुलाई नियुक्त गर्दा, बढुवा गर्दा र बेतन बढाउँदा ट्रेड युनियनको कार्यसमितिको स्वीकृति हुनुपर्ने माग आन्दोलित श्रमिकहरुले राखेका छन् ।
यसैगरी, श्रमिकहरुले सुरक्षाको कमीले दिनप्रति दिन दुर्घटना बढ्दै गएको, श्रमिकहरुको इच्छाविरुद्ध ट्रान्सफर गरेको एउटै श्रमिकसँग दुई तीन किसिमको काम लिने, साधारण कागजातसमेत नदिएको, चाकडी गर्नेलाई प्राथमिकता दिइने गरेको, तानाशाही र दादागिरी गरेको लगायत आरोपहरुसमेत लगाएका छन् ।
तपाईको प्रतिक्रिया