मधेश प्रदेशमा दलहरूको यस्तो छ विगत र वर्तमान

समाचार

जनकपुरधाम, ६ बैशाख । पूरै देश अहिले स्थानीय तह निर्वाचन केन्द्रित भइसकेको छ । गठबन्धन गरेर निर्वाचन गर्ने विषयमा सत्तारूढ गठबन्धनमा रहेको दलबीच रस्सकाकस्सी चलिरहेको समयमा सत्ताबाहिर रहेको नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एकपछि अर्को उम्मेदवारी धमाधम सिफारिश गरिरहेका छन् ।

उम्मेदवार छनोट प्रक्रियमा व्यस्त रहेका दलहरू भने सबैभन्दा बढी मधेश प्रदेशमा केन्द्रित देखिएका छन् । राष्ट्रिय दलका रूपमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको आधार भूमि कुनै न कुनै रूपमा मधेस प्रदेश नै रहँदै आएको छ ।

देशको सबैभन्दा पुरानो राजनीतिक इतिहास बोकेको दल नेपाली कांग्रेसका लागि त यो क्षेत्र गढकै रूपमा रहँदै आएको थियो । पछिल्लो स्थानीय तह निर्वाचनको परिणामअनुसार देशैभरिको अवस्थालाई आधार मान्ने हो एमालेभन्दा कमजोर अवस्थामा कांग्रेस पुगेको थियो । यद्यपि मधेश प्रदेशमा कांग्रेसको दायरा खुम्चँदै गइरहेकोमा कांग्रेसको नेतृत्व वर्ग नया रणनीतिका साथ प्रस्तुत हुने दाउमा छन् ।

गत स्थानीय तह निर्वाचन कांग्रेसका लागि सन्तोष गर्न सक्ने नभएपनि मधेबमा कांग्रेश कमजोर नरहेको दाबी गर्छन् कांग्रेस मधेसप्रदेशका अध्यक्ष कृष्ण यादव । उनका अनुसार कांग्रेस अहिले पनि मधेश प्रदेशमा पहिलो स्थानमै छ र ३० वैशाखको निर्वाचनपछि अहिलेको स्थितिभन्दा झनै राम्रो स्थितिमा आउने छ ।

यता माओवादी केन्द्रले पछिल्लो निर्र्वाचनभन्दा बढी स्थानीय तहमा राम्रो नतिजा ल्याउने माओवादीका मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीको दाबी छ । नेकपा विभाजनपछि पुनः उदय भएको माओवादी केन्द्र कमजोर स्थितिमा पुगेको कुरा बुढाथोकी स्वीकार गर्दैनन् ।

कांग्रेसलाई फाइदा

देशैभरिको स्थानीय तहको पछिल्लो मत परिणामअनुसार नेकपा एमाले पहिलो दल बनेको थियो । एमालेपछि मात्रै कांग्रेसको नम्बर थियो । पछिल्लो डेढ वर्षमा राजनीतिक समीकरण मात्रै नभई राजनीतिक दलहरूको अवस्थामा समेत परिवर्तन आइसकेको छ ।

एमाले र माओवादीकेन्द्र मिलेर राम्रो जित निकालेपछि एकता गरेर नेकपाको उदय भयो । तर आन्तरिक कलहका कारण नेकपा नै विलिन भयो । फलस्वरूप एमाले एक्लिएको छ भने माओवादी केन्द्र कांग्रेस नेतृत्वको सत्ता गठबन्धसँग टाँसिएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र मतान्तर देखिएपछि जसपा विभाजित भयो । जसपाको नेतृत्व अहिले उपेन्द्र यादवले गरिरहेका छन् भने जसपाबाट अलग्गिएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट समेत अलग्गिएर वृषेशचन्द लालको नेतृत्व तमलोपा सक्रिय भइसकेको छ । यस हिसाबले मधेशी दलहरू पछिल्लो स्थानीय तहको निर्वाचनभन्दा कमजोर स्थितिमा देखिने भएका छन् । जसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसलाई पुग्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

यसका साथै मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टी समेत निर्वाचनमा भाग लिने भएपछि मधेशी दलकै भोट बैंकमा असर पर्ने उनीहरू बताउँछन् । यता एमालेको स्थिति अहिले पनि मधेस प्रदेशमा ठीक छैन । त्यसैले एमाले विभिन्न दलबाट कार्यकर्ता तान्ने अभियानलाई तीव्र बनाएको छ ।

राष्ट्रिय दलहरूमध्ये कांग्रेसबाहेक सबै दल पछिल्लो २ वर्षको अवधिमा विभाजित भइसकेकाले ती दलहरूको शक्तिमा केही हदसम्म ह्रास आएको दाबी जानकारहरूको छ । यता कांग्रेस आफ्नो पूरै शक्तिका साथ स्थानीय तह निर्वाचनमा लाग्ने र पछिल्लो परिणामभन्दा राम्रो परिणाम निकाल्ने योजनामा छ ।

पछिल्लो परिणामको दलीय स्थिति

मधेश प्रदेश धेरै स्थानीय तह भएको प्रदेशको मामिलामा दोस्रो नम्बरमा छ । प्रदेश १ पछि सबैभन्दा धेरै स्थानीय तह मधेश प्रदेशमै छ । १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कुल १३६ वटा स्थानीय तह मधेस प्रदेशमा छन् । १३६ वटै पालिका गरी मधेश प्रदेशमा कुल १ हजार २७१ वडा छन् ।

मधेश प्रदेशमा नेपाली कांग्रेस पछिल्लो स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ४० स्थानीय तहको प्रमुखमा विजयी भएको थियो भने ३३८ वडामा जित हासिल गरेको थियो । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमले २६ स्थानीय तह र १९१ वडामा विजयी भएको थियो ।

तत्कालीन राजपा २५ स्थानीय तह र १९४ वडा, एमाले १८ स्थानीय तह र २३० वडा र माओवादी केन्द्र २१ स्थानीय तह र २३१ वडामा विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ