धनगढी, ८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन् ।
कैलालीको धनगढी पुगेर प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो । अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो डिशिजन लिएको भन्ने कुरा पनि प्रष्ट छ । १३ गते अदालतले दुवैलाई बोलाएको छ । अदालतमा दुवैका कुरा आउँछन् ।
यस्तै उनले वैशाख ३० गते नै निर्वाचन हुने बताए । ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए । हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । अब त केही कन्फ्युज छैन होला ।’ उनले भने, ‘सुदूरपश्चिम लगायत देशैभर सबै क्षेत्रमा तालमेल गर्ने र सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’
प्रचण्डले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरे । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि मिल्दै जाने र यसले निर्वाचन परिणाममा फरक नपार्ने बताए ।
गठबन्धनभित्रको असन्तुष्टि लोकतन्त्रको सुन्दरता भएको बताउँदै उनले यो धेरै ठूलो कुरा नभएको जनाए ।
तपाईको प्रतिक्रिया