मोरङ, ८ बैशाख । नजिकिँदो स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरमा निर्वाचन कार्यालय प्रदेश १ द्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ छलफल कार्यक्रममा दलका नेताहरूले आचारसंहिता पालना गर्ने र अरूबाट उल्लंघन भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
कार्यक्रममा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनासहित ३ बुँदे प्रतिबद्धता जनाएको कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।
उपसचिव एवं कार्यालय प्रमुख अधिकारीले निर्वाचनका क्रममा कसैबाट आचारसंहिता उल्लंघन भए तत्काल आयोग, प्रहरी, प्रशासनलगायत निकायलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।
त्यसैगरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई नभएको बताए । कार्यक्रममा कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका प्रतिनिधि सहभागी थिए ।
निर्वाचनका लागि मोरङका १७ वटा स्थानीय तह र १ सय ५९ वटा वडामा ३ सय मतदानस्थल तथा ८ सय २० वटा मतदान केन्द्र तोकिएको छ ।
मोरङमा ७ लाख १५ हजार २ सय २३ मतदाता छन्। जसमा विराटनगर महानगरपालिकामा अन्य पालिकामा भन्दा बढी १ लाख ३३ हजार १ सय ४२ र केराबारी गाउँपालिकामा अन्यभन्दा २३ हजार ९ सय ९० मतदाता छन् । निर्वाचन कार्यालय प्रदेश १ का प्रमुख अधिकारीका अनुसार यसपटक मोरङमा स्वतन्त्रबाहेक ३९ वटा राजनीतिक दल चुनावी मैदानमा रहनेछन् ।
तपाईको प्रतिक्रिया