मधेश प्रदेशमा १ हजार बढी मतदानस्थल अति संवेदनशील

समाचार

जनकपुरधाम, ९ बैशाख । मधेश प्रदेशमा १ हजार ६३ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । यस्तै सो प्रदेशमा ८ सय ८८ संवेदनशील र २ सय १२ वटा मतदान केन्द्र सामान्य रहेका जनाइएको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरिएको छ । आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदानस्थल छन् । विगतको निर्वाचनको घटना क्रमका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको आयोगले जनाएको छ ।

विगतको निर्वाचनमा मतदान बिथोलिएका, झडप भएका मतदानस्थललाई अति संवेदनशीलको रुपमा सुरक्षानिकायले लिएको छ । मधेश प्रदेशका प्रहरी महानायब निरीक्षक उमेश रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा चुनौती सामान्य रहेको बताए ।

उनले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, साना–साना समूहहरु मूलप्रवाहको राजनीतिमा आएकाले सुरक्षा चुनौति पनि सामान्य रहेको बताए ।

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशिल मानिएको छ । यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशिल मानिएको छ ।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य मानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ