१८० भन्दा बढी पालिकामा जनमतको उम्मेदवारी

समाचार

काठमाडौं, १५ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएको छ ।

ती पालिकाका १ हजार २ सयभन्दा बढी वडा अध्यक्षसहितको उम्मेदवारी दर्ता गराएको जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले जानकारी दिए ।

मधेश प्रदेशको सबैजसो पालिकाका साथै प्रदेश १ को उदयपुर, सुनसरी, मोरङसहितका केही पालिका, लुम्बिनी प्रदेशको अधिकांश पालिका र बागमती प्रदेशका केही पालिकामा गरी १८० भन्दा बढी स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यसहितका पदमा उम्मेदवारी दर्ता गराएको जनमत पार्टीले जनाएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनको बेला तत्कालीन स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका डा. सीके राउतले ‘कोठली बाहर मत’ को अभियान चलाएका थिए ।

त्यसपछि अलगाववादको आन्दोलनलाई बिसाउँदै जनमत पार्टीको गठन र स्थापनासँगै सो पार्टीले उपनिर्वाचन अन्तर्गत एक गाउँपालिका अध्यक्षसहित ८ वटा वडामा उम्मेदवार खडा गरेको थियो । यद्यपि सो पार्टीका उम्मेदवारले पाएको मत निराशाजनक नै रह्यो ।

महासचिव सिंहले सामुदायिक स्वराजका लागि प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउन आफ्नो पार्टी निर्वाचनमा होमिएको बताए । आसन्न निर्वाचनमा ५० वटाभन्दा बढी पालिकामा जित हासिल गर्नेगरी जनाधार निर्माण र संगठन विस्तार गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ