वीरगन्ज, १५ बैशाख । सत्ता गठबन्धनका दलहरुबीच वीरगञ्जमा बुधवार छलफल भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।
बैठकले नेपाली कांग्रेसका नेता श्याम कुमार पोखरेलको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ ।
यस्तै बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ ।
बैठकमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गठबन्धनलाई हरेक स्थानीय तहमा जित दिलाउनुपर्नेमा जोड दिए ।
केन्द्रीय गठबन्धनको निर्णयबमोजिम पर्सा जिल्लामा पनि गठबन्धनको पवित्रतालाई जोगाउन र गठबन्धनको मर्यादा कायम राख्नुपर्ने सांसद यादवको भनाई छ ।
वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र नेपाली उपमेयरमा इम्तियाज आलमलाई मतदान गर्न गराउन र गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी बनाउन सबै लाग्न पनि उनले आग्रह गरे ।
तपाईको प्रतिक्रिया