जनकपुरमा कांग्रेसको विद्रोहले कसलाई लाभ ?

समाचार

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी नेपालले पाएपछि धनुषा कांग्रेसमा विद्रोह भएको छ । विद्रोहसँगै जसपबाट बन्ने गठबन्धनका उम्मेदवारलाई कति फरक पार्छ भन्ने हिसाब किताब सुरू भएको छ ।

मेयरमा गठबन्धनबाट जसपाका लालकिशोर साहको उम्मेदवारी परेको छ । उता काँग्रेसबाट विद्रोह गरेर मनोज साहले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै बलराम महतोले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी परेको छ । लोसपाले मनोज चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ ।

उपमहानगरपालिकामा एमालेले लोसपासँग चुनावी तालमेल गरेको छ । कांग्रेसका मनोज साहलगायतले कांग्रेसबाट विद्रोह गरे पनि गठबन्धनको उम्मेदवारमाथि कुनै प्रभाव नपर्ने जसपाका नेताहरूको दाबी छ ।

यसअघि पनि तत्कालीन राजपाले मेयर र उपमेयरमा चुनाव जितेको हो । यसपटक त पाँच दलको गठबन्धन छ । त्यसमा हार्ने कुरा न भएको उनीहरूको भनाइ छ ।

उनीहरू मनोज साहलगायत काँग्रेसका केही कार्यकर्ता विद्रोह गर्दा केही थोरै मत कम भएपनि त्यसले हारजितको फ्याक्टर नहुने तर्क गर्छन ।

विगतभन्दा जसपा झन् बलियो भएको र त्यसमा झन् गठबन्धन बनेकाले पराजित हुने सम्भावना नहुने दाबी पनि छ । जस्तोसुकै गठबन्धन बने पनि उम्मेदवारको व्यक्तित्वले पनि मतलाई प्रभाव पार्छ ।

उता काँग्रेसका मधेस प्रदेश सदस्य जीवनाथ चौधरीले पनि पार्टीमा विद्रोह भए पनि गठबन्धनमा कुनै फरक नपर्ने दाबी गर्छन् । जसपालाई मेयर दिँदा पार्टीमा क्षणिक आक्रोश भएको तर त्यो बिस्तारै साम्य हुँदै गएको जनकपुरका कांग्रेसी नेताहरूको भनाइ छ ।

कतिपयले कांग्रेसमा यस्तो विद्रोह पहिला पनि भएको बताउँछन् । आन्तरिक मतभेदका कारण एउटै उम्मेदवारलाई सबै मत कहिले पनि नगएको र त्यसैले केही नेता छाड्दैमा गठबन्धनको उम्मेदवारलाई प्रभाव पार्छ जस्तो नहुने धेरैको बुझाइ छ ।

यद्यपि उम्मेदवारको व्यक्तित्वको कारण केही मत तलमाथि हुनसक्छ तर गठबन्धनकै उम्मेदवार हार्ने सम्भावना निकै कम हुने विश्लेषण गरिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ