बाँकेमा उम्मेद्वारहरुको घरदैलो अभियान

समाचार

नेपालगञ्ज, १६ बैशाख । बाँकेमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मत माग्नका लागि घरदैलो अभियान सुरु गरेका छन् ।

गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेपालगञ्ज उपमहानगरका प्रमुखका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई र नेकपा (एमाले)का प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र, उपप्रमुख शान्ति ढकाल दिनहुँ जसो मत माग्न मतदाता कहाँ पुगिरहेका छन् ।

त्यस्तै राप्रप्राका नेपालगञ्ज उपमहानगरका प्रमुखका उम्मेदवार नन्दलाल वैश्यलगायत साना दलका उम्मेदवार पनि मत माग्न घरदैलो पुगेका छन् ।

जनता समाजवादी पार्टीका उपप्रमुखका उम्मेदवार कमरुद्दिन राईले सामाजिक सद्भाव बढाएर नेपालगञ्ज बदल्ने अभियानमा लाग्ने स्पष्ट पारे ।

एमाले नेपालगञ्ज उपमहानगरपालिकाले पनि घरदैलो अभियानमा सक्रियता बढाएको छ । उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र उपप्रमुखका उम्मेदवार शान्ति ढकाल तथा विभिन्न वडामा उम्मेदवार रहेका वडाध्यक्ष र सदस्य आफ्ना पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन् ।

यसबाहेक कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरेनापुर गाउँपालिकामा पनि उम्मेदवारले मत माग्न मतदाताकहाँ घरदैलो सुरु गरेका छन् ।

बाँकेका ८१ वटा वडाध्यक्षका लागि ५१२, सदस्यमा ८७२, महिला सदस्यमा ४२४ र दलित महिला सदस्यमा ३९२ जनाको उम्मेदवारी परेको छ ।

गत निर्वाचनभन्दा यस पटक वडाध्यक्षमा ३८ जना बढीले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा कूल मतदान स्थल १३६ र मतदान केन्द्र ३७९ छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ