काठमाडौं, २० बैशाख । मुस्लिम धर्मावलम्बीहरु आज ईदउल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको हो ।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको बताइएको छ ।
नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।
यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको बताइन्छ ।
यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।
मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौं रमजान महिनामा भोजन गर्छन् ।
तपाईको प्रतिक्रिया