जनकपुरधाम, २१ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार मनोज चौधरीले आफू कार्यकाल सम्हाले लगत्तै ल्याण्डफिल्ड साइट निर्माण गर्नेतर्फ अग्रसर हुने बताएका छन् ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसँग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन कमजोर रहेको अवस्थामा ल्याण्ड फिल्ड साइट निर्माण गरी जनकपुरधामलाई फोहरमुक्त बनाउने बताए ।
लोसपा जनकपुरधामका अध्यक्षसमेत रहेको चौधरीले जनकपुरधाम धार्मिक तथा पर्यटकीय शहर समेत भएकोले त्यसको मध्यनजर गर्दै जनकपुरधाममा जानकी मन्दिरसम्म निःशुल्क बस संचालन गर्ने बताए ।
जनकपुरधामलाई पर्यटकीय क्षेत्रको विकास गरि पर्यटनक्षेत्रको बढावा दिनका लागि जनकपुरधामको रेल्वे स्टेशन, जनकपुरधाम विमानस्थल र बसपार्कबाट जानकी मन्दिरसम्म निःशुल्क बस संचालन गर्ने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत विभिन्न वार्डमा घरदैलो अभियान संचालन गर्दै आएका मेयर पदका उम्मेदवार मनोज चौधरीले बुधबार कुर्थाटोलको घर–घरमा पुगेर भोट मागेका थिए ।
यसभन्दा पहिलेका मेयरले कुर्थावासीसँग ठगी गरेको भन्दै आक्रोश व्यक्त गर्दै मनोज चौधरीलाई कुर्थावासीको साथ रहेको भनेर टोलवासीले प्रतिवद्धता जनाएका थिए ।
घरदैलो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदकी उम्मेदवार रिता कुमारी मिश्र, लोसपा धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह, लोसपा प्रचार प्रसार समितिका अध्यक्ष तथा युवा नेता संजय चौधरी, अमर पजियार, सरिता शर्मा लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया