नेपालगञ्ज, २२ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि १७ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ ।
यद्यपि, यहाँ मुख्यगरी त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नेपालगञ्ज उपमहानगरमा सत्तारुढ गठबन्धनबीच तालमेल भएको छ । जसअनुसार गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट मेयर र जसपाका कमरुद्दिन राई उपमेयर पदका लागि चुनावी मैदानमा छन् ।
अर्कोतिर नेकपा एमालेले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा एमालेले ८ वडा जितेका कारण पनि नेपालगञ्ज उपमहानगरमा यो पार्टी पनि बलियो शक्तिका रुपमा छ ।
नेपालगञ्जमा राप्रपाको पनि बलियो पकड छ । २०७४ सालको निर्वाचनमा राप्रपाले मेयर जितेका कारण पनि यहाँ राप्रपालाई कम आँक्न मिल्दैन ।
यहाँ राप्रपाले मेयरमा नन्दलाल वैश्य र उपमेयरमा बिन्दु मगरलाई उम्मेदवार बनाएको छ ।
वैश्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् । मगर भने यसअघिको निर्वाचनमा उपमेयरमा प्रत्यासी भएर दोस्रो स्थानमा मत हासिल गरेकी थिइन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबाहेक मेयरमा अन्य १४ जनाले उम्मेदवारी दिएका छन् ।
जसअनुसार नेकपा माओवादी समाजवादीबाट अनिता वैश्य, नेकपा मालेबाट मेवालाल हलवाई, लोसपा नेपालबाट महमुद आलम सिद्दिकी, राप्रपा नेपालबाट अभयकुमार बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर पुन, जनमत पार्टीबाट प्रह्लाद अहिर, नेपाली जनता दलबाट सेरबहादुर खाँ, जनता प्रगतिशील पार्टी नेपालबाट रमेशचन्द्र कुमार, नेश्नलिस्ट पिपल्स पार्टीबाट भुवन कृष्ण श्रेष्ठ उम्मेदवार छन् ।
यस्तै, मोहम्मद अजुव हल्वाई, कमलेशकुमार पाठक, विकास बहादुर सिंह, दिनेश थापा, मोहम्मद फैज स्वतन्त्र उम्मेदवार छन् ।
यस्तै, उपमेयरमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबाहेक ६ जनाको उम्मेदवारी परेको छ । जसअनुसार नेकपा माओवादी समाजवादीबाट मो रियाज राई, जनमत पार्टीबाट अब्बन किंगरिया, राप्रपा नेपालबाट राजश्री शाह, जनता प्रगतिशील पार्टीबाट आरती मिश्रा, लोसपा नेपालबाट ममता बानियाँ र नेश्नलिस्ट पिपल्स पार्टीबाट निरु थकाली उम्मेदवार छन् ।
तपाईको प्रतिक्रिया