कैलाली, २२ बैशाख । आगलागीबाट ध्वस्त भएको कैलालीको बिपतपुर मुक्त कमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ ।
आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउपालिका ७ मा रहेको बिपतपुर शिविर प्रदेश सरकारले निर्माण गर्ने भएको हो ।
चालु आर्थिक वर्षभित्रै विस्तृत डिपिआर निर्माण गरी आउँदो आर्थिक वर्ष २०७९÷०८० देखि बस्ती निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्त कमैयाका बस्ती निर्माण गरिने उनले प्रतिवद्धता जनाए ।
प्रदेश सरकारले तत्काल प्रति मुक्त कमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नलमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भएको हो । ७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यान्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए ।
तपाईको प्रतिक्रिया