बुटवलमा पाँचदलीय गठबन्धनको यस्तो छ प्रतिवद्धता

समाचार

रुपन्देही, २२ बैशाख । बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गरेका थिए ।

संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएको भन्दै पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका छन् ।

संकल्प पत्रमा भनिएको छ–‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’

यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ