वीरगञ्ज महानगरमा महिला उम्मेदवार शून्य

समाचार

वीरगञ्ज, २२ बैशाख । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा महिलालाई उम्मेदवार बनाउनमा मुख्य दलले कन्जुस्याइँ गरेका छन् ।

महानगरको मेयर वा उपमेयरमा यहाँका मुख्य दलले महिलालाई उम्मेदवार नै बनाएका छैनन् । वीरगञ्ज महानगरपालिकामा मुख्य प्रतिस्पर्धामा रहेका दल कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो दलबाट महिलालाई टिकट दिएका छैनन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा यहाँ प्रतिस्पर्धामा रहेका चार वटा दलले पुरुषलाई मात्रै उम्मेदवार बनाएका छन् ।

वीरगञ्जमा मेयर र उपमेयरका लागि अहिले सत्ताधारी दल र विपक्षी एवं अन्य दल गरी दुई वटामा गठबन्धन बनेकोे छ । मेयर र उपमेयरमध्ये कुनै एक पदमा महिलालाई उम्मेदवार बनाउने नियम भए पनि गठबन्धन गरेका दलले आ–आफ्नो तर्फबाट पुरुषलाई नै प्राथमिकतामा राखेर उम्मेदवार बनाएका छन् ।

सत्ताधारी गठबन्धनमा रहेका दलमध्ये जसपाको भागमा परेको वीरगञ्जको मेयरमा पहिलेदेखि नै राजेशमान सिंहको चर्चा चलेपछि उपमेयर पाउने कांग्रेसमा नेत्री सुष्मा तिवारी, किरण सरकार, शान्ति कार्कीलगायतलाई नै टिकट दिनुपर्ने दबाब थियो । तर, अन्त्यमा कांग्रेसले इम्तियाज आलमलाई टिकट दिएको थियो ।

यस्तै, एमाले र लोसपाबीच पनि गठबन्धन हुँदा पहिलेदेखि नै विजय सरावगी नै एमालेतर्फबाट मेयरका उम्मेदवार हुने पक्कापक्की नै भइसकेको थियो ।

पछि लोसपालाई उपमेयर दिएर गठबन्धन हुँदा लोसपाकी नेत्री रम्भा मिश्रालाई टिकट दिन लोसपामा दबाब भए पनि पार्टीले उनलाई टिकट नदिएर लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम झालाई उपमेयरको उम्मेदवार बनाएको छ ।

मेयर र उपमेयरमध्ये एउटा पदमा महिला हुनुपर्ने भए पनि वीरगञ्ज महानगरमा दलहरूले गठबन्धन गरेर पुरुषलाई नै दुबै पदमा उम्मेदवार बनाएपछि लोसपा नेत्री रम्भा मिश्राले बागी उम्मेदवारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ