भारतीय राजदूतमा श्रीवास्तव प्रस्तावित

समाचार

काठमाडौं, २३ बैशाख । भारतले नेपालका लागि नयाँ राजदूतमा नविन श्रीवास्तवलाई प्रस्ताव गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा भारतले नयाँ राजदूत प्रस्ताव गरेको हो ।

नेपालका लागि राजदूत भएकै बेला निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएको हो ।

भारतले श्रीवास्तवको नाम नेपालको परराष्ट्र मन्त्रालयमा पठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको नाम नेपालबाट स्वीकृत भएसँगै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीको अवसरमा जेठ २ गते लुम्बिनी भ्रमण गर्न लागेकाले त्यसभन्दा पहिले नै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने छन् ।

भारतीय विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यारत श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन् ।

सन् २०२० मा भारत–चीन सीमा क्षेत्रको लाइन अफ एक्च्युल कन्ट्रोल (एलओसी)मा दुई देशका सैनिकबीच विवादको अवस्था सिर्जना हुँदा चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि श्रीवास्तवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ