लहानमा चौधरी र साहबीच कडा टक्कर

समाचार

सिरहा, २३ बैशाख । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय नजिकिँदै गर्दा गाउँगाउँमा विभिन्न आँकलनहरु सुरु भएको छ । सिरहाको सवैभन्दा पुरानो नगरपालिका लहानमा यो पटक दुईपक्षीय भिड्न्त हुने देखिएको छ ।

लहान नगरपालिकामा यस निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर समेत रहेका मुनि साहले उम्मेदवारी दिएका छन् । उनको टक्करमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति महेश चौधरीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले छुट्टै उम्मेदवारी दिएपनि साह र चौधरी नै चुनावी दौडको अग्रपङ्तिमा रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको यो पालिकामा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो ।

यस पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा र नेकपा माओवादी केन्द्रको समेत समर्थन र नेकपा एमाले विभाजन पछि लहानका नेताहरु नेकपा एसतर्फ नरहेकाले पनि साहको उम्मेदवारी कमजोर हुन गएको स्थानीयहरुले विश्लेषण गरिरहेको छ ।

अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि निवर्तमान मेयर साहको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ । यसअघि दुईपटक मेयर भईसकेकोले लहानबासीले नयाँ अनुहार खोजिरहेको कतिपयको भनाइ छ ।

चौधरी बाहुल्य लहानमा जातीय समीकरणले पनि यो पटक चौधरीलाई साथ दिने अनुमान गरिएको छ । २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चौधरी समूदायबाट उम्मेद्वारी परेको थिए । यो पटक जातिय हिसावले पनि महेश चौधरीमात्र उम्म्देवार रहेका छन् । यसले जातीय मतले पनि चौधरीलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ