जनकपुरधाम, २५ बैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्र र सङ्घीयताको रक्षा एवं विकासका लागि गठबन्धनको भावना अनुसार नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकार अगाडी बढेको बताएका छन् ।
पाँच दलीय गठबन्धनले शनिबार जनकपुरधामको तिरहुतीय गाछीमा आयोजना गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले पाँच दलको गठबन्धनले आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनको हितको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताए ।
उनले गठबन्धनको भावना अनुसार पार्टी सञ्चालन गर्न काँग्रेसको महाधिवेशनले म्याण्डेड दिएको उल्लेख गर्दै गठबन्धनको निर्णय विरुद्ध हुनेलाई पार्टीको साधारण सदस्यताबाट हटाइएको तथा अब गठबन्धन विरुद्ध बोल्नेमाथि कारबाही हुने बताए ।
प्रधानमन्त्री देउवाले आमा बुबाको नागरिकता भएको कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुने बताउँदै नागरिकता समस्याको चाँडो समाधान गरिने बताए । उनले मधेशी जनताको भावना अनुसार संविधान संशोधन हुने स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया