काठमाडौं, २७ बैशाख । बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमणको तयारीले तीब्रता पाएको छ ।
युनेस्कोको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा मई १६ अर्थात जेठ २ गते लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र स्थानहरू मध्ये एक लुम्बिनीलाई युनेस्कोले सन् १९९७ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।
मोदीको भ्रमणका लागि लुम्बिनी क्षेत्रमा चारवटा हेलिप्याड तयार गरिदैछ । मोदी कुशीनगरबाट हेलिकोप्टरमा लुम्बिनी अवतरण गर्ने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोही दिन लुम्बिनीको भ्रमण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।
देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपछि देउवाले मोदीलाई स्वागत गर्नेछन् । दुवै नेताले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने र भारत सरकारको आर्थिक सहयोगमा बन्ने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम रहेकोे छ ।
संस्कृति तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको अन्तर्राष्ट्रिय बौद्ध महासंघमार्फत् भारत सरकारले गुम्बा निर्माणका लागि एक अर्ब रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ । मोदीले अशोक स्तम्भ र बोधिवृक्षको पनि भ्रमण गर्नेछन्, जुन रूखमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेका थिए ।
देउवा र मोदीले लुम्बिनीमा वार्ता र सम्बोधन गर्ने कार्यक्रम छ जहाँ विश्वभरका बौद्ध धर्मावलम्बीहरुको सहभागिता रहनेछ । लुम्बिनीमा पाँच घण्टा लामो व्यस्तता पूरा गरी मोदी सोही दिन नै कुशीनगर हुँदै नयाँ दिल्ली फर्कनेछन् ।
मोदीको यो पाँचौँ नेपाल यात्रा हुनेछ । उनी पहिलोपटक सन् २०१४ अगस्टमा नेपाल भ्रमणमा आएका थिए । त्यसपछि सार्क शिखर सम्मेलनमा भाग लिन सोही वर्षको नोभेम्बरमा उनी काठमाडौं आए । मोदी तेश्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आएका थिए ।
उनको चौथो भ्रमण २०१८ अगस्टमा भयो । नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए ।
भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौं आएर बिमस्टेक शिखर सम्मेलनमा भाग लिएका थिए । उनले त्यसबेलै लुम्बिनी भ्रमण गर्न चाहे पनि सम्भव भएन ।
तपाईको प्रतिक्रिया