मोरङ, २९ बैशाख । स्थानीय तह निर्वाचनमा मतदान गर्ने समय नजिकिँदै गइरहेको बेलामा मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीमा बुधबार कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा परेर एमाले भातृ संगठन राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् ।
प्रहरीका अनुसार कांग्रेस र एमालेका कार्यकर्ताबीच दलेली बजारनजिकको विपन्न बस्तीमा जम्काभेट भएको थियो । त्यस क्रममा विवाद बढेपछि दुई पक्षबीच झडप भएको थियो ।
प्रहरीले दुवै पक्ष मतदातालाई प्रभावित पार्नका लागि विपन्न बस्तीमा छिरेको हुनसक्ने जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गरेको बताए । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको उनको भनाइ छ ।
आचारसंहिता उल्लंघनमा कानुन अनुसार कारबाही हुने भए पनि भौतिक आक्रमणमै उत्रिएको पाइएपछि घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया