भारतका प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै

समाचार

काठमाडौं, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनीमा २५६६ औं बुद्ध जयन्तीको अवसरमा आउन लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ४४ दिनपछि फेरि भेट हुन लागेको छ ।

चैत १९ गते देउवा र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा पहिले एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय बैठक भएको थियो । त्यसको डेढ महिनापछि देउवा र मोदीबीच फेरि दिवा भोजसहितको बैठक तय भएको हो ।

मोदी बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ ।

देउवा गत वर्ष असारमा प्रधानमन्त्री भएपछि मोदीसँग तेस्रोपटक प्रत्यक्षरूपमा भेट्दैछन् । यसअघि दुई प्रधानमन्त्रीबीच गत नोभेम्बर पहिलो साता संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरानमा स्कटल्यान्डमा भेट भएको थियो ।

बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउँदैछन् । त्यहाँ देउवा र मोदीबीच तेस्रो बैठक हुन लागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ