भैरहवा, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ ।
मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेका छन् । उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए ।
बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरीसकेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी रेवीन्द्र रेग्मीले भने, ‘लुम्बिनीसहित आसपासका सबै क्षेत्रमा त्रुटिरहित उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले पनि तयारी तीव्र बनाएको छ । मायादेवी मन्दिर परिसर रंगरोगन, मोदीलाई लुम्बिनी अवतरणको लागि ४ वटा हेलिप्याडको निर्माण, स्वागत द्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।
मायादेवी मन्दिरमा करिब ४० मिनेट बिशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटोशेसन तथा अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया