भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण नेपालको लागि राम्रो हो । बुद्ध जयन्तीको दिन पारेर भारतका प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ । हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विषयहरु भारतको गृह राजनीतिमा भारतीय जनता पार्टीको एजेण्डाभित्र पर्दछ ।
उहाँ यसअघि मुक्तिनाथ गएर विभिन्न प्रकारले धर्मभाव देखाएर भारतको धेरै ठूलो जनमतलाई प्रभावित पार्नुभयो । यस्तै, बुद्ध सर्किटको धेरै ठूलो एजेण्डा भाजपाले अगाडि सारेको छ । बुद्धका एकदमै महत्वपूर्ण चार वटा स्थानहरुमध्ये तीन वटा भारतमा छन् जुन बुद्धको जन्मभूमि नेपाल हो ।
उहाँ यो मौकामा नेपाल आएर आफ्नो देशभित्र आफ्नो जनमतलाई धेरै ठूलो प्रभाव पार्ने काम गर्नुहुनेछ । नेपालीहरुलाई पनि एउटा सन्देश दिनुहुनेछ कि मोदी भन्ने मान्छे वा भाजपा नेपालीहरुको एउटा नजिकको नेता हो । यद्यपि यो भ्रमणमा कुनै सन्धि सम्झौता हुने छैन ।
यसबाट नेपालका लागि पनि राम्रो सन्देश जानेछ । भारतमा कोही कसैले चुस्स केही बोलिदियो भने नेपालमा भारतविरोधी भावना फैलाउनेहरु सक्रिय हुन्छन् । त्यसकारणले, मोदी लुम्बिनी आउनुको मतलब भारत सरकारले औपचारिकरुपमा यस्ता फजुल कुराहरुमा पर्दैन, लुम्बिनी बुद्धको जन्मस्थल नै हो भन्ने मान्यता राख्दछ भन्ने कुरा देखिन्छ ।
अर्को कुरा बुद्ध धर्मावलम्बीहरु त संसारभरि छन् । विश्व राजनीतिमा प्रभाव राख्ने महाशक्ति राष्ट्र भारतका भारत प्रधानमन्त्री बुद्ध जयन्तीको दिन नेपाल आउँदा दुनियाँभर बुद्धिस्टहरुको ध्यान पनि लुम्बिनीतिर आउँछ ।
समग्रमा मोदीको लुम्बिनी भ्रमण नेपालको हितको विषय हो । नेपालले चाह्यो भने यो कुरालाई राम्ररी बजारीकरण गर्न सक्छ । नेपालको पर्यटन, धार्मिक पर्यटन र मित्रराष्ट्रसँगको व्यवहारमा धेरै राम्रो भूमिका खेल्न सक्छ । त्यसकारणले यो सकारात्मक हो ।
यत्रो ठूलो शक्तिशाली नेता कुन लुगा लगाएर नेपाल आउँछन्, त्यसको पनि चर्चा हुन्छ । त्यसको पनि असर पर्छ । विश्लेषक र नेताहरुले त्यसको पनि मूल्यांकन गर्छन् । यस्ता भ्रमणहरुको एउटै निष्कर्ष हुँदैन । यसले धेरै अर्थहरु राख्दछ, धेरै कोणबाट यसको मूल्यांकन गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया