काठमाडौं, ६ जेठ । यस पटकको स्थानीय निर्वाचनमा कान्छा जनप्रतिनिधि निर्वचित भएका छन् । सिभिल इन्जियरिङ्गसम्मको शिक्षा प्राप्त २१ वर्षका रणवीर मण्डल धनुषा जिल्लाको कमला नगरपालिकाको वडा अध्यक्ष बन्न सफल छन् ।
झट्ट हेर्दा अपरिक्व उमेरका देखिने उनमा समाजप्रतिको जिम्मेवारी बोध भएकै कारण उनी निर्वाचित भएका हुन् ।
उनको एक मात्र सपना दुवरकोट, हथिलेटवा, सुन्दरपुर र नरहा गाउँलाई देशमै अगाडि बढाउनु हो । उनको नेतृत्वदायी क्षमताका कारण नै उनी साथीभाइ, छरछिमेक र गाउँबासी जनताका माझ लोकप्रिय छन् ।
निर्वाचन आयोगको रेकर्ड अनुसार देशभर भएको स्थानीय तह निर्वाचनमा ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा २१ वर्ष पुगेका उनी एक मात्र कान्छो जनप्रतिनिधि हुन् । निर्वाचन कानुन अनुसार २१ वर्षका व्यक्तिले स्थानीय तहमा उम्मेदवार हुन पाउँछ । मण्डल ३५३ मत प्राप्त गरेर वडाअध्यक्षमा देशैभरमा निर्वाचित प्रमुखमध्ये सबैभन्दा कान्छो जनप्रतिनिधि बन्न पुगे ।
राजनीतिबाट मात्रै समाजको परिवर्तन र समृद्धि सम्भव छ भन्ने निष्कर्ष उनको छ । सिभिल इन्जियरिङ्ग विषयमा डिप्लोमा गरेको मण्डलको काँधमा एकाएक पढाइ भन्दा ठूलो जिम्मेवारी आइपुगेको छ । तर पनि उनले पढाइ, राजनीति र जनताको सेवासँगै अघि बढाउने निर्णय गरेका छन् । २१ लागेर जीवनको निर्णायक मोड्मा टेक्दै गरेको उनी अविवाहित हुन् ।
धनुषाका रणवीर जस्तै सर्लाहीमा २२ वर्षीय युवक पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् गाउँपालिकामा दिग्गज नेताहरू चुनावी मैदानमा रहेको बेला २२ वर्षीय युवकले चुनाव जित्नुलाई धेरैले आश्चर्य मानेका छन् । सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा आफ्नै काकालाई पनि राजाबाबु यादवले पराजित गरेका छन् ।
सानैदेखि सबैले राजा भनेर बोलाउने गरेका नवयुवक राजाबाबु यादव पाँच वर्षका लागि साँच्चिकै गाउँका लोकतान्त्रिक राजा बन्न पुगेका छन् । स्थानीय राजनीतिमा रहेको विकृति र विसंगतिलाई हटाउनु पर्छ भन्ने भावना राखेका एक जना नवयुवक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि सबैतिरबाट निकै चासोका साथ हेरिएको छ ।
सर्लाहीको राजनीतिमा अलग्गै पहिचान स्थापित गरिसकेका माओवादी नेता शिवपुजन राय यादवका छोरा राजाबाबुले वाणिज्यमा स्नातक छन् ।
आफूमाथि नागरिकको विश्वास रहेकोले स्थानीय जनताकै माग बमोजिम राजनीतिमा होनहार राजाबाबुलाई अगाडि सारिएको पिता शिवपूजन यादवको भनाइ छ ।
अन्य उम्मेदवारले जस्तै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा सुशासनको आश्वासन दिएर चुनावमा आएका राजाबाबुले सुशासनमा धेरै जोड दिँदै आएका थिए । अविवाहित रहेका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिका संचालनमा पिताको पनि निरन्तर साथ र सहयोग रहने स्थानीयको विश्वास छ ।
नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका राजाबाबु यादवले ४०८१ मत ल्याउँदा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आफ्नै काका हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरेका छन् । गाउँपालिकाको अध्यक्षमा काका र भतिजा दुई दलबाट उम्मेदवार बनेपछि मतदाताले नवयुवक भतिजालाई गाउँपालिका हाँक्ने जिम्मेवारी सुम्पेका छन् ।
पर्सामा पनि २१ वर्षे युवा गाउँपालिका अध्यक्ष बनेका छन् । पर्साको कालिकामाई गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (जसपा) उम्मेदवार वशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएका हुन् । उनले भारतको देहरादूनबाट स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आफूभन्दा दोब्बर उमेरका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्टले ३ हजार ७१९ मत ल्याउँदा अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।
तपाईको प्रतिक्रिया