जनकपुरधाम उपमहानगरमा मनोज साह विजयी

समाचार

जनकपुरधाम, ९ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको अन्तिम परिणाम सोमबार साँझ आएको हो । जसअनुसार स्वतन्त्र उम्मेदवार साहले १३ हजार ४ सय ६५ मत ल्याएर विजयी भएका हुन् ।

नवनिर्वाचित मेयर साह नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराको ९ हजार ५ सय ३२ मत आएको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६०, जसपाका लालकिशोर साहले पाँच हजार १ सय ९४, स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ हजार २ सय ९० मत प्राप्त गरेका थिए ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकी राम साहले २ हजार ७२, जनमत पार्टीकी अनिता साहले १ हजार ४ सय ३७ र तमलोपाकी विभा ठाकुरले १ हजार १ सय ४१ मत ल्याउनुभएको थियो ।

त्यसैगरी जनकपुरधामको उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरी साहले १५ हजार ५ सय २५ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, लोसपाकी रिता मिश्रले ५ हजार ८ सय १७, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ३ हजार ७ सय ७२, जनमत पार्टीका सन्तोषकुमार साहले १ हजार ७ सय २५ प्राप्त गरेका छन् । करिब १० दिनपछि जनकपुरधामको अन्तिम नतिजा आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ