जनकपुरधाम, १० जेठ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तहको निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाएका छन् ।
मधेशवाणीसँगको कुराकानीमा अध्यक्ष डा. राउतले अधिकांश ठाउँमा सत्ता र शक्तिको दुरुपयोग गर्दै चुनावमा धाँधली भएको आरोप लगाएका हुन् ।
एक–दुई ठाउँमा मात्र नभएर अधिकांश ठाउँमा मतपेटिकामा बढी मत भेटिएकाले चुनाव धाँधलीपूर्ण रहेको उनको दाबी छ ।
उनले भने, ‘एक–दुई ठाउँमा मात्र भए छिटफुट घटना भनिन्थ्यो । तर, अधिकांश ठाउँमा मतपेटिकामा बढी मत भेटिएको अवस्था छ । बाकस साटासाट गरिएको अवस्था छ । कतिपय ठाउँमा सिल नै तोडिएको अवस्थामा बाकस भेटिएको छ ।’
अध्यक्ष डा. राउतले निर्वाचनमा मत नदिएकै कारण कैयौँ मानिस प्रताडित हुनुपरेको पनि बताए ।
उनले भने, ‘मत नदिएकै आधारमा ठूलो विभेद गर्ने गरिएको छ । गाउँबाट निष्कासित गर्ने, गाउँमा नाकाबन्दी लगाइदिने, खेत जोत्न नदिने, यातना दिने, कुटपिट गर्ने जस्ता विषय सामान्य नै भइसकेको छ ।’
राउतले शक्ति, पैसा र पावरमा पहुँच भएकाहरूले प्रायः ठाउँमा जितेको पनि बताएका छन् ।
उनले मधेशी जनता अझै सचेत हुन नककेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
पाँच वर्षसम्म गाली गर्ने अनि भोट फेरि त्यही पार्टीहरूलाई दिने परिपाटीको अन्त्य हुन उनको भनाइ छ ।
पैसामा भोट किनबेचको क्रम अझै नरोकिएको भन्दै राउतले काठमाडौँका जनता जस्तो यहाँका जनतामा अझै चेतना आउन नसककेको बताए ।
डा. राउतले भने, ‘जनता सचेत नभएसम्म यो प्रक्रिया चलिरहन्छ । अब कसरी भन्ने सचेत ? हजार रुपैयाँमा मत बेचिराखेका छन्, त्यो जनतालाई कसरी सचेत भन्ने ?’ उनले थपे, ‘पाँच वर्षसम्म सत्ताधारीलाई गाली गर्छन्, अनि भोट दिने बेला त्यसैलाई भोट दिन्छन् ।’
तपाईको प्रतिक्रिया