जनकपुरधाम, ११ जेठ । मधेश सरकारले ‘आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय’ को नाम परिवर्तन गरी ‘गृह तथा सञ्चार मन्त्रालय’ राखेको छ ।
जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिएका हुन् ।
यो मन्त्रालयको नाम दोश्रोपटक परिवर्तन गरिएको हो । संघीय संरचनाअनुसार प्रदेश सरकार गठन हुँदा यो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो ।
यसबाट कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अगल गरिएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नामाकरण गरिएको थियो ।
मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया