पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध बिहीबार पनि प्रदर्शन

समाचार

जनकपुरधाम, १२ जेठ । पेट्रोलियम पदार्थमा गरिएका मूल्यवृद्धि फिर्ताको माग गर्दै जनकपुरधाममा बिहीबार पनि प्रदर्शन भएको छ ।

बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीको भ्रातृ संगठन लोकतान्त्रिक युवा संघ र विद्यार्थी संघको नेतृत्वमा युवाहरूले भानुचोकमा प्रदर्शन गरेका हुन् । उनीहरूले आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीको पुतला पनि दहन गरेका छन् ।

सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनतालाई दुःख दिने काम गरेको उनीहरूले आरोप लगाएका छन् । आफूलाई लोकतन्त्रको पक्षधर बुझ्ने गठबन्धन सरकारले जनतालाई महँगीको मारमा धकेलेको उनीहरुको गुनासो छ ।

पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धिको असर अन्य सबै क्षेत्रमा पर्ने भन्दै उनीहरूले तत्काल समस्याको समाधान गर्न माग गरेका छन् । तत्काल मूल्यवृद्धि फिर्ता नलिइए आफूहरू कडा आन्दोलनमा उत्रिनेसमेत उनीहरूले चेतावनी दिएका छन् ।

प्रदर्शनमा लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष झा, विद्यार्थी संघका जिल्ला अध्यक्ष इजाज अन्सारीलगायत युवाहरू सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ