बारा, १३ जेठ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएपछि बारामा प्रदर्शन भएको छ ।
गएराति स्थानीयवासीले सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध राँके जुलुस निकालेर प्रदर्शन गरेका हुन् । नेकपा माओवादी केन्द्रको नेतृत्वमा राँके जुलुस निकालिएको हो ।
बुधबार सर्वाेच्च अदालतले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको अहिलेसम्मका सबै निर्णय बदर गरिदिएको हो ।
अदालतले निजगढको विकल्प खोज्न पनि सुझाएको छ ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउनेसम्बन्धी सबै निर्णयहरू बदर गरिदिएको हो ।
२०७१ फागुन र चैत तथा २०७५ पुसमा भएका निर्णयहरू अदालतले बदर गरिदिएको हो ।
निजगढमा करिब २४ लाख रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो ।
यसैबीच, सर्वोच्चको यो फैसलाप्रति शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जाहेर गरेकी छन् ।
सर्वाेच्चले प्रभावमा परेर यो आदेश दिएको आरोप लगाएकी छन् । उनले यो निर्णय कुन आधारमा टेकेर गरेको गरिएको हो भन्दै प्रश्न गरिन् ।
सबै न्यायाधीशहरू प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत उनले चुनौती दिए ।
धेरै रुख काटिने र वातावरणमा असर पर्ने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले रिट दायर गरेका थिए ।
तपाईको प्रतिक्रिया