बजेट वक्तव्य : निशुल्क मिर्गौला प्रत्यारोपण, सुत्केरीलाई पोषण भत्ता अनि २ लाख जनालाई रोजगारी

समाचार

काठमाडौँ, १५ जेठ ।  सरकारले मिर्गौला रोगीहरूको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । 

आइतवार आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो घोषणा गरेका हुन् । 

त्यस्तै, सबै प्रादेसिक अस्पतालमा डायलासिस सेवा उपलब्ध गराउन डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरिएको छ । विपन्न वर्गका मिर्गौला रोगीलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न सरकारले १० करोड विनियोजन गरेको छ ।

त्यसैगरी, सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने जनाएको छ । विकट क्षेत्रका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरेको हो । 

सरकारले बाराको अमलेखगन्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको घोषणा पनि गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगन्जदेखि मकवानपुरको मनहरी गाउँपालिकाको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए । 

त्यस्तै, सरकारले प्रत्येक वर्ष २ लाख जनालाई रोजगारी प्रदान गर्ने भएको छ । सूचना सेवा केन्द्रमा सूचीकृतलाई सरकारले रोजगारी प्रदान गर्ने बताएको हो । अर्थमन्त्री शर्माले वार्षिक ३० प्रतिशतका दरले मर्यादित रोजगारी सिर्जना गर्ने पनि बताएका छन् ।

त्यसैगरी, सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको शर्माले घोषणा गरेका हुन् । ​

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ