काठमाडौँ, १५ जेठ । सरकारले 'एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम ल्याएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्य प्रस्तुत गर्दै प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने जनाएका हुन् ।
शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको पनि बताए । त्यस्तै सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार दिने भएको छ ।
यस्ता बिरामीलाई औषधि उपचारका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए । मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्चवापत मासिक ५००० उपलब्ध गराउन यो रकम छुट्याइएको हो ।
त्यसैगरी, ६५५ वटा अस्पतालको निमार्ण गर्न १० अर्ब छुट्टाइएको छ । साथै, सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुने उनले बताए ।
सरकारले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी 'क' वर्गको परिचयपत्र दिने भएको छ ।
सरकारले सामुदायिक विद्यालयमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने व्यवस्था पनि गरेकोे छ।
हाल कक्षा ५ सम्मका बालबालिकाका लागि यो व्यवस्था छ ।
सरकारले १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षासहित भवन निर्माण गर्ने भएको छ ।
प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ । सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । प्राविधिक विषयलाई विस्तारै प्रदेशमा हस्तान्तरण गर्ने नीति सरकारले लिने तयारी गरेको छ ।
त्यस्तै, सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।
मन्त्री शर्माले प्राविधिक विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताए।
स्नातक र स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले स्थानीय तहको योजना निर्माण र ग्रामिण विकासमा योगदान हुनेगरी स्वयम् काम गर्नुपर्ने भएको हो।
तपाईको प्रतिक्रिया