अझै फेला परेन सम्पर्कविहीन विमान, भोलि बिहानैबाट पुन: खाेजी सुरु गरिने

समाचार

१५ जेठ, काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान अझै फेला परेन ।

चालक दलका सदस्यसहित २२ जनालाई लिएर पोखराबाट जोमसोमका लागि उडेको विमानको खोजी दिनभर भए पनि फेला पर्न सकेको छैन ।

उडान भरेको केहीबेरमै सम्पर्कविहीन भएको विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेको पोखरा विमानस्थलले पुष्टि गरेको छ । 

बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट उडान भरेको विमानमा चालक दलका ३ सदस्य, ४ भारतीय नागरिक, २ डच नागरिक, १३ नेपाली यात्रु सवार थिए ।  

विमान सम्पर्कविहीन भएको खबरलगतै खोजीका लागि हवाई र स्थल दुवै मार्गबाट नेपाली सेनासहित परिचालन गरिए पनि भेटिएको छैन । 

विमान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । 

प्रतिकुल मौसमका कारण साँझसम्म पनि विमान नभेटिएपछि खोजी कार्य आजका लागि स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाए । 

भोलि बिहानैबाट खाेजी कार्य सुरु गरिने पनि सिलवालले जनाए । 

विमानका क्याप्टेन प्रभाकर घिमिरेको फोनको मोबाइलको लोकेसन टिटी लेकतिर देखाएपछि त्यतातिर खाेजी केन्द्रित गरिएको थियो । 

विमान मुस्ताङको न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि हुनसक्ने आशंका गरिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ