काठमाडौँ, १६ जेठ । आइतबारदेखि सम्पर्कविहीन रहेको तारा एयरकाे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
चालक दलका तीनसहित २२ जना सवार जहाज मुस्ताङको थासाङ–२ को भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सेनाले जानकारी दिएको हो ।
दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयहरूले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरूले बताएका छन् ।
उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारे पनि मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए ।
६५ जनाको सेनाको उद्धार टोली घटनास्थलनजिक पुगेका छन् ।
यसैबीच, दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्गल श्रेष्ठसहित पथ प्रदर्शक पनि पुगिसकेका छन् ।
पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको विमान सम्पर्कविहीन भएको थियो । विमानमा तीन चालक दलका सदस्य, चार भारतीय, दुई डच नागरिक र १३ नेपाली यात्रु सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ७ जना धनुषाको एकै परिवारका छन् ।
तपाईको प्रतिक्रिया