मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै

समाचार

धनुषा, १६ जेठ । मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै छ ।  मिथिलामा विवाहित महिलाहरूले पतिको दीर्घायु र सन्तानको सुस्वास्थ्यको कामना गर्दै वट सावित्री मनाउने गर्छन् ।

जेठ महिनाको औँसी तिथिमा मनाइने यस पर्वमा विवाहित महिलाहरू ब्रत बसी वरको रूखमा सामूहिक पूजाअर्चना गर्ने परम्परा छ ।

यो पर्वलाई वरसाइत पनि भन्ने गरिन्छ । अटल सौभाग्यको कामना गर्दै मिथिलानीले यो पर्व मनाउने गर्दछन् । 

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो घरनजिकको वट वृक्ष (वरको रुख) फेदमा वर्तालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् । 

बट सावित्रीमा महिलाहरूले नयाँ पहिरनमा वरको रुखमा सामूहिक रूपमा विधिपूर्वक पूजा गर्छन् । पान, सुपारी, केरा, फलफूल, धुप– अगरबत्तीलगायतका विभिन्न पुजन सामग्रीका साथ पूजापाठ गरी व्रतालु महिलाहरूले श्रीमानको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको काम गरी वरको रुखलाई रातो र पहेलो धागोले बाँधी पूजा गर्छन् । 

शास्त्रीय भनाइअनुसार सत्य युगमा सति सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा पर्व मनाउन थालिएको हो । 

पौराणिक कथाअनुसार राजा सत्यवानको मूल्य भएको समय उनकी श्रीमती सावित्रीले वरको रुखको फेँदमा बसी कठोर ब्रत गरी पतिको प्राण फिर्ता गराउन सफल भएकी थिइन् । यही मान्यताअनुसार महिलाहरूले यो पर्व मनाउन लागेको धार्मिक ग्रन्थहरूमा लेखिएको छ ।

 वर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

नयाँ परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ