काठमाडौं, १६ जेठ । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन साहले सपथग्रहण गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।
आगामी दिनमा नेपाली सेनासँग सहकार्य गरेर महानगरपालिकाको कतिपय काम अघि बढाउने योजना रहेको बताइएको छ । बालेन निकट स्रोतका अनुसार उनी सेनाले प्रयोग गर्दै आएको टुंडिखेललाई सर्वसाधारणका लागि कसरी उपयोगी बनाउने भन्ने पक्षमा छन् ।
वडाअध्यक्षहरुसँगको पहिलो बैठक बस्नुअघि उनी सैनिक मुख्यालय जंगीअड्डा गएर प्रधानसेनापतिसँग भेट गरेका हुन् ।
मेयर साहले प्रधानमन्त्री वा अन्य पदाधिकारीहरुसँग भेटघाट नगरी प्रधानसेनापतिसँग भेटघाट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गरेको बताइएको छ ।
प्रधानसेनापति शर्माले चाहिँ मेयर साहलाई लोकप्रिय मतका साथ विजयी भइकोमा बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया