प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा जाने

समाचार

काठमाडौँ, १७ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा जान लागेका छन् । 

यी तीन देशको भ्रमणका लागि उनी असार ४ गते निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी लिने उदेश्यले प्रधानसेनापति शर्माले लेबनान र सिरियाको भ्रमण गर्न लागेका हुन् ।

लेबनान र सिरियामा राष्ट्रसंघको शान्ति मिसनमा ठूलो संख्यामा नेपाली शान्ति सैनिक खटिएका छन् ।

प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नेछन् ।

लेबनान र सिरियाको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति शर्मा अमेरिका जाने कार्यक्रम रहेको छ । असार १३ देखि १७ गतेसम्म उनले अमेरिकाको भ्रमण गर्नेछन् ।

‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रूपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ