वीरगन्ज, १७ जेठ । पर्सा जिल्लाको धोबिनी गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।
६ कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका दिनेश प्रसाद र नन्दकिशोर प्रसाद कानु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धोबिनीले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार दुवै जनाले १५–१५ मत ल्याएर विजयी भएका हुन् । दुवै जनाका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का दिपक कुमार सर्राफ र प्रमेश्वर ठाकुरले १२–१२ मत पाएका थिए ।
महिला सदस्यमा काङ्ग्रेसकै परमजोती कुमारी, रिना देवी, शारदा पासवान र शोभावती देवी विजयी भएका हुन् । चारै जनाले १५– १५ मत ल्याएर विजयी भएका छन् ।
चारै जनाका प्रतिस्पर्धी जसपाका नगिना देवी, व्यान्ती देवी कुर्मीले १२–१२ मत पाएका थिए भने एमालेका कोशिला देवी पटेल र बचनी देवीले ११–११ मत पाएका थिए ।
२७ मतदाता रहेको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा काँग्रेसका १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । काँग्रेसले एक्लै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यको चुनाव लडेका थिए ।
तपाईको प्रतिक्रिया