काठमाडौँ, १७ जेठ । सरकारले सुन्दर हरिजनको मृत्युको विषयमा छानबिन गर्न पाँच सदस्सीय समिति गठन गरेको छ ।
रोल्पा कारागारमा जेठ ४ गते कैदी हरिजनको मृत्यु भएको थियो । यही घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिलाई स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।
यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयले जनाएको छ ।
कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।
हरिजन मृत्यु प्रकरण प्रतिनिधिसभामा पनि पुगेको छ । आज बसेको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले घटनाको छानबिन गर्न समिति गठनको माग गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया