सांसद् श्रीवास्तवको प्रतिज्ञा– ‘कृषि औजार र चिनी मिल सञ्चालनमा आए आफ्नो घर दान गर्छु’

समाचार

काठमाडौँ, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद विमल श्रीवास्तवले वीरगञ्जस्थित कृषि औजार कारखाना र चिनी मिल सञ्चालन आए आफ्नो घर दान दिने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रीवास्तवले सरकारले बजेटमा भने जस्तो यो वर्ष वीरगञ्जस्थित कृषि औजार कारखाना र चिनी मिल पुनः सञ्चालनमा ल्याए वीरगञ्जस्थित आफ्नो एउटा घर ती कारखानाको नाममा गरिदिने घोषणा गरेका हुन् ।

उनले भने, ‘यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी कारखाना सञ्चालन भयो भने मेरो नामको एउटा घर छ । त्यो घर सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि यी कारखानाको फण्डमा दिने म प्रतिज्ञा गर्दछु ।’

सरकारले जहिले पनि मिठामिठा कुराहरू बजेटमा राख्ने तर कार्यान्वयन नगर्ने परिपाटीप्रति व्यंग्य गर्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

सांसद् श्रीवास्तवले भने, ‘बजेट ललिपप जस्तो देखाउनका लागि मात्र ल्याइएको हो भने मलाई केही भन्नु छैन ।’
पर्सा जिल्लाका लागि अरु कुनै कुरा बजेटमा छन् भने त्यो कटौती गरेर भए पनि यी दुई कारखाना यो वर्ष सञ्चालनमा ल्याउन उनले आग्रह गरेका थिए ।

यी कारखाना सञ्चालनमा आए हजारौंले रोजगारी पाउने र किसानलाई राहत मिल्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ