नागरिकता विधेयक चालू अधिवेशनबाटै पारित हुन्छ : कानुनमन्त्री शर्मा

समाचार

जनकपुरधाम, १८ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकता विधेयक चालू अधिवेशनबाट पारित हुने दाबी गरेका छन् ।

जनकपुरधाममा आज भएको कार्यक्रममा मन्त्री शर्माले संसदमा रहेको नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाको यसै अधिवेशनबाट पारित हुने बताएका हुन् ।

उनले विधेयकमा केही कुरामा सहमति जुटाउनुपर्ने भन्दै तत्काल सहमति गरेर पारित गरिने प्रतिबद्धता जनाए ।

नेपाली बुवा आमाबाट जन्मेका र अङ्गीकृत नागरिकहरूका सन्तानले नागरिकता पाउने पनि स्पष्ट पारे ।

उनले भने, ‘नागरिकताको हक नागरिकको अधिकार रहेको र यो कसैको निगाहको कुरा होइन ।’

उनले सर्वसम्मत रूपमै नागरिकता विधेयक पारित हुने भन्दै कुनै शङ्का नगर्नसमेत आग्रह गरे ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साउन २२ मा दर्ता भई साउन २५ मा संसदमा प्रस्तुत भएको थियो । दफाबार छलफलका लागि यो विधेयक भदौ ५ गते राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो ।

समितिले फरक मतका साथ प्रतिवेदन तयार पारी २०७७ असार ९ मा संसदमा पेश गरेको थियो । तर, हालसम्म पनि यो विधेयक पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा जन्मसिद्ध नागरिकताका सन्तानहरू नागरिकता पाउनबाट बञ्चित हुँदै आएका छन् । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ