बारा, १८ जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध आज पनि प्रदर्शन भएको छ ।
निजगढ सार्वजनिक सरोकार समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनपछि भएको कोणसभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णय देश र जनताको पक्षमा नरहेको बताएका छन् ।
पूर्वमन्त्री पौडेलले देश र जनताको विपक्षमा आएको फैसलाको सबैले विरोध गर्नुपर्ने बताए । उनले सम्मानित अदालत भन्दैमा उसले जथाभावी गरेको निर्णय मान्नुपर्ने कुनै बाध्यता नरहेको पनि बताए ।
पौडेलले देश र जनताको विपक्षमा हुने निर्णयको सबैले विरोध गर्नुपर्ने पनि बताए । आयोजना निर्माण गर्ने क्रममा सरकारले कुनै गल्ती र त्रुटि गरेको भए सच्याउन अदालतले आदेश दिनसक्ने भन्दै नेता पौडेलले आफ्नो कार्य क्षेत्रबाहिर गएर अदालतले पनि कुनै निर्णय गर्न नसक्ने बताए ।
प्राविधिक दृष्टिकोणले निजगढ नै नेपालमा सबैभन्दा उपयुक्त स्थल भएको उनको भनाइ थियो ।
कोणसभामा राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका पूर्वसदस्य विनोद भारतीले सर्वोच्चको फैसलापछि संसदीय समितिको नाममा सरकारलाई जारी गरिएको भनिएको निर्देशन जनतालाई भ्रममा पार्न मात्रै आएको बताए ।
निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले आफूहरूले विगतमा पनि निजगढलगायत देशका विभिन्न विकास निर्माणको योजना सफल पार्न दबाबमूलक आन्दोलन गर्दै आएको विमानस्थल निर्माण गराउन सबै पक्षसँग सल्लाह र सहयोग लिएर निरन्तर विरोध प्रदर्शन, र्याली, चक्काजाम जारी राख्ने चेतावनी दिए ।
नेपाली कांग्रेसका कृष्ण खरोलले सर्वोच्चको फैसला विकास विरोधी रहेको र आन्दोलनको विकल्प नभएको बताएका थिए ।
तपाईको प्रतिक्रिया