काठमाडौँ, १८ जेठ । नागरिकताविहीन नागरिकहरूले आज पनि प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।
बुधबार आन्दोलनको चौथो दिन पनि नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा काठमाडौँमा प्रदर्शन तथा धर्ना गरिएको हो ।
समितिका संयोजक इन्जिनियर जित साफीसहितका युवाले विभिन्न माग लेखिएका प्लेकार्डसहित धर्नामा बसेका थिए ।
जन्मसिद्ध र एकल आमाका सन्तानहरूलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको भन्दै समिति आन्दोलनमा उत्रिएको हो ।
राज्यले आफूहरूलाई नागरिकताविहीन बनाएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताउँदै आएका छन् ।
नागरिकता नहुँदा उच्च शिक्षा प्राप्त गर्न, जागरी गर्न, विद्यालय भर्ना, सवारी लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिनसमेत समस्या भएको उनीहरूको गुनासो छ ।
यसअघि हिजो नागरिकताविहीन नागरिकहरूले संसद् भवन अगाडि गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको थियो ।
दलहरूबीच सहमति नहुँदा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लामो समय बित्दासमेत विचाराधीन छ ।
तपाईको प्रतिक्रिया