काठमाडौं, १९ जेठ । नेपाल पिछडावर्ग ओबीसी महासंघ पटक–पटक विवादित हुँदै आएको छ । गजेन्द्र ठाकुर अध्यक्ष रहेको नेपाल पिछडावर्ग ओबीसी महासंघले एक विज्ञप्ति जारी गरी महासंघको हु–बहु नाम राखी महाधिवेशन गर्न लागेकोप्रति आपत्ति जनाएको छ ।
महासंघकी महासचिव बबिता देवी पूर्वेले बिहीबार एक विज्ञप्ति जारी गरी जेठ २० गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महासंघको हु–बहु नाम राखी महाधिवेशन गर्न लागेकोले सो कार्य कीर्ते र जालसाजी भएको बताएकी छन् ।
यस्ता क्रियाकलाप बन्द गर्न गराउन नेपाल सरकारको सम्बन्धित निकायमा लिखितरुपमा जानकारी गराएको र यस्ता कीर्ते जालसाजी क्रियाकलाप गर्नेमाथि कानूनका दायरामा ल्याई कानूनी कारबाही गर्न महासंघले माग गरेको छ ।
महासंघको नाममा गर्न लागिएको सो कार्यक्रममा सहभागी नहुनसमेत महासंघले अपिल गरेको छ ।
पिछडावर्गभित्र पर्ने करिब ४२ वटा जातजातिहरुको हकहित र अधिकारका लागि स्थापित भएको नेपाल पिछडावर्ग ओबीसी महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नंं. ८४७ मिति २०५४।०५५ मा दर्ता भई संस्थाको संशोधित स्वीकृ विधान बमोजिम प्रत्येक वर्ष वार्षिक साधारणसभा र विधानबमोजिम प्रत्येक वर्ष ३÷३ वर्षमा राष्ट्रिय महाधिवेशन गराउँदै आएको जनाएको छ ।
यता, पिछडावर्ग महासंघको अध्यक्ष दाबी गर्दै कौशलकुमार सिंहले जेठ २० गते शुक्रबार कमलादीमा राष्ट्रिय महाधिवेशन गर्न लागेका छन् । सो महाधिवेशनलाई गजेन्द्र ठाकुर रहेको महासंघले कीर्ते र जालसाजीको संज्ञा दिएका छन् ।
ठाकुरले ओबीसी महासंघको हरेक प्रमाण र आधिकारिकता आफूसँग नै रहेको मधेशवाणीलाई बताएका छन् । उनले सिंहसँग कुनै प्रमाण वा डकुमेन्ट नरहेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया