एउटा वडा सदस्य मात्रै जित्दा पनि परिणाम सन्तोषजनक !

समाचार

कपिलवस्तु, १९ जेठ । कपिलवस्तुमा नेकपा (एकीकृत समाजवादी)ले १ वडा सदस्य मात्रै जिते पनि स्थानीय निर्वाचनको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

कपिलवस्तुमा १० पालिका र ९६ वडा छन् । पार्टीको जिल्ला सचिवालय बैठकले निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि गठबन्धन दल र आफ्नो पार्टीलाई जनताको अपार माया प्राप्त भएको निष्कर्ष निकालेको हो ।

पार्टी गठनको ८ महिनामै निर्वाचनमा होमिनुपर्ने बाध्यता, जिल्लामा सुदृढ भइनसकेको संगठनात्मक संरचना, गठबन्धनका नाममा अल्झिनुपरेको अवस्थाबीच पनि अधिकांश पालिकामा उम्मेदवार उठाउनु र कतिपय स्थानमा राम्रो मत ल्याउनुलाई पार्टीले सन्तोषजनक मानेको हो ।

‘जनताको बीचमा निर्वाचन चिह्न कलम स्थापित हुन सक्नु नै हाम्रा लागि सुखद पक्ष हो’, नेकपा एसका जिल्ला अध्यक्ष लंकबहादुर हमालले भने, ‘यद्यपि कतिपय स्थानमा जित्ने आकंलन गरेपनि विभिन्न परिस्थितिका कारण पराजय ब्यहोर्न पुग्यौं । यस विषयमा निर्मम ढंगले समीक्षा गरेका छौं ।’

जिल्लाभर अधिकांश स्थानमा पार्टीका उम्मेदवार रहे पनि कृष्णनगर नगरपालिका–१० को वडा सदस्यमा मुतर्जा मुसलमानले वडा सदस्य जितेका छन् । जिल्लामा पार्टीको यो मात्रै जित हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ