धनगढी, २० जेठ । सुदूरपश्चिम प्रदेशसभाको १०औँ अधिवेशनमा बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल सुरु भएको छ ।
सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । मंगलबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सिद्धान्त र प्राथमिकतामा छलफल सुरू भएको हो ।
छलफलमा सुझाव राख्ने क्रममा प्रदेशसभा सदस्यहरूले महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति जनाएका छन् ।
प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले महिलामाथि सुदूरपश्चिममै सबैभन्दा बढी उत्पीडन हुने गरे पनि त्यसलाई न्यूनीकरण गर्ने कुनै योजना नआएको गुनासो गरिन् ।
महिलालाई आत्मनिर्भर नबनाएसम्म कुरुतिको अन्त्य हुन नसक्ने र आगामी बजेटमा महिला आत्मनिर्भरमुखी योजना ल्याउन उनले सुझाव दिइन् ।
यता सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको दाबी गरे ।
तर, बाजुराको त्रिवेणी नगरपालिकामा निर्वाचन सम्पन्न हुन नसकेपछि पुनः निर्वाचन गर्ने निर्णय नै भइसकेको छ । सो पालिकामा एमाले र नेपाली कांग्रेसले केही बुथ कब्जा गरेको ठहर गर्दै निर्वाचन आयोगले त्रिवेणीमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया