सिरहा, २० जेठ । सिरहाको मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग निर्माणमा चासो नदेखाएको भन्दै स्थानीयवासी तथा व्यापारीले चक्काजाम गरेका छन् ।
शुक्रबार स्थानीयवासी तथा व्यापारीहरूले करिब एक घण्टासम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारी चक्काजाम गरेका हुन् । वर्षौदेखि सडक जीर्ण हुँदासमेत निर्माणमा सम्बन्धित निकायले ध्यान नदिएको उनीहरूको गुनासो छ ।
सडक जीर्ण हुँदा धुलोका कारण आफूहरूको स्वास्थ्यमा असर पर्न थालेको मिर्चैया उद्योग वाणिज्य संघ सचिव भरत महासेठले गुनासो गरेका छन् । सरकारले यो सडक निर्माणको ठेक्का चाइन रेल्वे टु कम्पनीलाई दिएको छ । ठेक्का लागेको लामो बित्दासमेत निर्माण पक्षले बेवास्ता गरेको उनीहरूले आरोप लगाएका छन् ।
सडक नबनेसम्म समय समयमा पानी छर्किनुपर्ने भए पनि प्रयाप्त पानी नहालेको स्थानीय अशोक साहले गुनासो गरे ।
सडक नबन्दा गर्मीमा धुलो र वर्षाका बेला डुबानको समस्या स्थानीयवासीले भोग्दै आएका छन् । केहीबेर मात्र वर्षा हुँदासमेत यो सडक पोखरीमा परिणत हुने गरेको छ ।
यसैबीच, शुक्रबार स्थानीयवासी र व्यापारीले सडक अवरुद्ध पारी चक्काजाम गरेपछि समस्या समाधानका लागि सरोकारबाला पक्षहरूले वार्ता गरेका छन् ।
संघर्षरत पक्ष, सडक विभाग, चिनिया रेल्वे टु कम्पनीका प्रतिनिधिहरूबीच वार्ता भए पनि सहमति जुट्न सकेन । तत्काल सडक निर्माण गर्न सरोकारबाला पक्ष तयार नभएपछि वार्ता बिनानिष्कर्ष टुंगिएको स्थानीय रुकेश साहले बताए ।
संघर्षरत पक्षले शुक्रबार साँझ बैठक बसेर थप निर्णय गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया