जनकपुरधाम, २० जेठ । मधेश प्रदेशको धनुषा जिल्लास्थित मिथिला नगरपालिकाअन्तर्गतको भाटेघारी सामुदायिक वन, पोखरिया सामुदायिक वन र केमलीपुर सामुदायिक वनमा मानव वन्यजन्तु द्वन्द्व सम्बन्धी अनुसन्धान शुरु भएको छ ।
काठमाडौं फरेष्ट्री कलेजमा वन विज्ञानको स्नातक तहमा अध्ययनरत जनकपुरधाम घर भएकी विद्यार्थी निशा साहले मधेश प्रदेश सरकार, उद्योग पर्यटन तथा वन मन्त्रालय, जनकपुरधामको चालु आ.व.को स्वीकृत कार्यक्रमबाट रिसर्च ग्रान्ट पाई उक्त अनुसन्धान गरिरहेकी छन् ।
अध्ययन क्षेत्र चुरे क्षेत्रमा रहेको र पछिल्लो समयमा धनुषा लगायत तराई–मधेशको चुरे क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटनाहरु सामान्य प्रायः भएको देख्न सुन्न पाइन्छ ।
अझ यो क्षेत्र साविकमा हात्ति हिंड्ने रुट भएको र पछिल्लो समय मानव बस्ती विकासको क्रममा हात्तीको परापूर्व रुटमा नै ठाउँ–ठाउँमा गाउँ–बस्ती विकास भएको हुँदा हात्तीको कारणले बारम्बार मानव–हात्ती द्वन्द्वका घटनाहरु हुने गरेका छन् ।
अझ तराई मधेशमा त पछिल्लो समयमा निलगाई (घोडगद्धा) को प्रकोपले स्थानीय कृषकहरु निकै नै चिन्तित र त्रशित हुने गरेको यथार्थ कसैबाट लुकेको छैन ।
अनुसन्धानकर्ता साहका अनुसार वन्यजन्तुको परम्परागत वास स्थानलाई मानवले आफ्नो स्वार्थको लागि मानवीय प्रयोजन रुपान्तरण गरेको हुँदा वास स्थानको अभाव र आहाराको खोजीमा वन्यजन्तुहरु गाउँ बस्ती तथा कृषि खेतहरुमा आउने गरेको देखिन्छ ।
करिब ६ महिनाको अवधि खर्चेर गरिन लागिएको अनुसन्धान कार्य लगभग अन्तिम चरणमा रहेको र फिल्डको कार्यहरु सम्पन्न भई रिपोर्ट लेखनको कार्य भइरहेको जानकारी दिँदै अनुसन्धानकर्ता साहले यस अध्ययनले उक्त क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वको अवस्था, मात्रा, कारण, चुनौती र द्वन्द्व न्यूनीकरणका उपायहरुको खोजी गरी तीनवटै वन क्षेत्रको तुलनात्मक अध्ययन गरिन लागिएको बताएकी छन् ।
उक्त अनुसन्धान कार्यको सुपरभिजन काठमाडौं फरेष्ट्री कलेजका उप–प्रमुख प्रा.डा. झमक बहादुर कार्की र फिल्ड सुपरभिजन उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधामका भू–संरक्षण अधिकृत बेचन कुमार महतोले गर्दै छन् ।
तपाईको प्रतिक्रिया