जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, ९ को मृत्यु

समाचार

रुपन्देही, २२ जेठ । जनकपुरधामबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । चार जना मृतकको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् ।

यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ