काठमाडौं, २२ जेठ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको महत्वपूर्ण विभाग ‘सडक विभाग’को महानिर्देशक पद एक महिनादेखि रिक्त रहेको छ ।
एक खर्ब ७० अर्ब वार्षिक बजेट रहेको सडक विभागको महानिर्देशक पद रिक्त हुँदा विभिन्न काहरु अलपत्र परेको बताइएको छ ।
सडक विभागको सय वर्षको इतिहासमा अहिलेसम्म यतिका दिन महानिर्देशक पद रिक्त भएको थिएन । महानिर्देशक पद रिक्त रहेको अवस्थामा विभागीय मन्त्री रेणुकुमारी यादवप्रति विभिन्न आरोपहरु लागेका छन् ।
गत बैशाख १९ गतेदेखि आज जेठ २२ गतेसम्म सडक विभागको महानिर्देशक नियुक्त हुन सकेको छैन ।
यता, मन्त्री यादवको नौ महिने कार्यकालमा तीन जना महानिर्देशक परिवर्तन भइसकेका छन् । मन्त्री यादवले आफ्नो कार्यकालमा तीन महानिर्देशक परिवर्तन गरेपछि विभागका पदाधिकारीहरु असन्तुष्ट देखिएका छन् ।
चालु आर्थिक वर्षको अन्त्यतिर मन्त्री यादवले योजना प्रमुख, डिई, क्षेत्री निर्देशनालयलगायत विभागका विभिन्न पदाधिकारीहरु सरुवा गर्दै आएको स्रोतको भनाई छ ।
एक हप्ता अगाडि मात्रै मन्त्री यादवले रविन्द्र श्रेष्ठलाई हटाई गोपाल प्रसाद सिग्देललाई मन्त्रालयको सचिवमा ल्याएका छन् ।
सडक विभागको महानिर्देशक रहेको अर्जुन थापालाई तीन महिनामै मन्त्री यादवले हटाएको स्रोतले बताएको हो ।
मन्त्री यादवमाथि लागेका आरोपहरुः
मन्त्रिपरिषद्मा हेरफेर हुने चर्चा रहेको छ । मन्त्री हेरफेरमा सबभन्दा हटलिस्टमा मन्त्री यादव रहेको विश्वस्त स्रोतको दाबी छ । मन्त्री यादवलाई हटाउने करिब पक्कापक्की नै रहेको स्रोतले बतायो ।
मन्त्री यादव आफू अब पदबाट जान अगाडि नै विभिन्न विभागहरुबाट मोटो रकम असुल गर्न लागेको आरोपहरु छन् ।
सडक विभागको महानिर्देशकको पदावधि दुई वर्षको हुन्छ । तर मन्त्री यादवले आफ्नो कार्यकालको नौ महिनामै तीन महानिर्देशक किन परिवर्तन गरिन् ?
आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयको सचिव सरुवा, विभिन्न विभागका प्रमुख, डिई, क्षेत्रीय निर्देशक लगायत किन परिवर्तन गरियो वा गरिँदैछ ?
यस सम्बन्धमा मन्त्री यादवसँग कुराकानीका लागि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
सडक विभागमा यत्रो दिन महानिर्देशक पद किन रिक्त रहेको मधेशवाणीको प्रश्नको जवाफमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले भने, ‘विभागको महानिर्देशक पद करिब एक महिनादेखि रिक्त रहेको छ । मन्त्रीज्यूको कार्य व्यस्तताका कारण अहिलेसम्म पदपूर्ति हुन नसकेको होला ।’
सचिव सिग्देलले मधेशवाणीलाई भने, ‘महानिर्देशक पद रिक्त भएपनि निमित्त तोकिएको छ । कुनै काम रोकिएको छैन । अहिलेसम्म के कारणले महानिर्देशक नियुक्ति भएन त्यो कुरा त मन्त्रीज्यूलाई नै थाहा होला । उहाँ नियुक्ति प्रक्रियामा लाग्नुभएको होला ।’
तपाईको प्रतिक्रिया