मधेश प्रदेश सरकारले भव्यताका साथ मनायो ‘विश्व वातावरण दिवस’

समाचार

जनकपुरधाम, २२ जेठ । मधेश प्रदेश सरकार उद्योग, पर्यटन तथा वन मन्त्रालय, प्रदेश वन निर्देशनालय, जनकपुरधाम, डिभिजन वन कार्यालय, धनुषाको संयुक्त आयोजनामा भव्य र सभ्य तरिकाले विश्व वातावरण दिवस मनाइएको छ ।

विश्व वातावरण दिवस, २०७९ को उपलक्ष्यमा आइतबार धनुषाधाम नगरपालिका–६ स्थित श्री हरीकुञ्ज सामुदायिक वन क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको हो । ५० वर्ष अगाडि अर्थात् सन् १९७३ बाट प्रत्येक वर्षको जुन ५ तारिखलाई विश्वव्यापी रुपमा विभिन्न कार्यक्रमसहित विश्व वातावरण दिवस मनाइने गरिएको छ ।

मधेश प्रदेश सरकारले पनि प्रादेशिक स्तरमा धनुषा जिल्लाको धनुषाधाम न.पा. वडा नं. ६ स्थित श्री हरीकुञ्ज सामुदायीक वन क्षेत्रभित्र डिभिजन वन कार्यालयको नियमित वृक्षरोपण कार्यक्रमसँगै एक मात्र पृथ्वी भन्ने नाराका साथ विभिन्न प्रजातीका १००१ (एक हजार एक) विरुवा रोपेर वातावरण दिवस मनाएको हो ।

प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो रहेका थिए ।

कार्यक्रममा प्रदेश वन निर्देशनालय परिवार, मधेश प्रदेश, डि.व.का. धनुषा परिवार, स.व.डि.का. पुस्पलपुर र धनुषाधाम परिवार, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, धनुषाधाम न.पा. ६ तथा मिथिला न.पा.४ का नव निर्वाचित वडाध्यक्ष, जनकपुरधाम वन प्राविधिक समाज परिवार, मिथिला वाइल्डलाइफ ट्रस्ट परिवार, प्रहरी कार्यालय, ढल्केवर, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सागरनाथ, चुरे उत्थान्शिल आयोजना, बर्दिवास, प्याव्सन धनुषा, दुधमती सफाइ अभियान, मोनास्टीक, न्यू भिजन तथा सुपर सेन्स स्कुलका बिद्यार्थीहरु, हरीकुन्ज सा.व.उ.स., वन बिज्ञ हरी नारायण मण्डल र उपेन्द्र चौधरी, आसपास गाउँका जनताहरु, वृक्ष मानव स व अ सुरेश प्रसाद शर्मा, गोरखापत्र सम्वाददाता लगायत विभिन्न मेडियाकर्मीहरु सहित करिब पाँच सय जनाको भव्य उपस्थिति रहेको थियो ।

करिब एक हप्ता अगाडिदेखि तयारी गरिएको उक्त कार्यक्रम आइतबार विहानको ८ः०० बजे देखि ११ः०० बजेसम्म सञ्चालन भएको थियो ।
वृक्षरोपण कार्यक्रमको उद्घाटन शत्रमा स्वागत मन्तव्य राख्दै प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवालले विश्व पर्यावरण जगेर्नाका लागि हरियाली बढाउनु नै सबैभन्दा उत्तम विकल्प रहेकोमा जोड दिएका थिए ।

वृक्ष मानव एवं स.व.अ. सुरेश प्रसाद शर्माले पर्यावरण जगेर्नाका खातिर आजको हाम्रो पहल र प्रयास अति आवश्यक रहेको र भविष्यमा हाम्रा सन्तती समेतले हाम्रो अमुल्य योगदानलाई सम्झिने भन्दै सबैलाई जय हरियाली जय पर्यावरणको अभियानमा निःसंकोच लाग्न आव्हान गरेका थिए ।

कार्यक्रममा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र मण्डलले अबको समय पर्यावरण बचाउका लागि केही गर्नैपर्ने कुरामा जोड दिँदै कुराभन्दा केही गरे देखाउने प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री महतोले सरकार विश्वको बदलिदो पर्यावरणको सवालमा निकै नै संवेदनशील रहेको र बाँच्नका लागि संविधान प्रदत स्वच्छ वातावरणको मौलिक हक सुनिश्चिताका लागि हामी सम्पूर्ण मानव जगत नै ईमान्दार हुनुपर्ने कुरामा जोड दिए ।

हामीले हाम्रो धार्मिक तथा साँस्कृतिक उत्सवहरु समेतमा पर्यावरण जगेर्नाका लागि प्रतिवद्ध रहनै पर्ने भएकोले वार्षिक जन्मोत्सव तथा मृत्यु संस्कारमा समेत वृक्षरोपण तथा वृक्षदान गर्नुपर्ने मन्त्री महतोले उजागर गरेका थिए ।

उद्घाटन शत्रमा समापन मन्तव्य राख्दै प्रदेश सचिव विशाल घिमिरेले समग्र रुपमा नै देवताको वास हुने धार्मिक चिन्तनलाई स्मरण गराउँदै पौराणिककालमा पनि जम्बुदिपे भनेर उल्लेख भएको हुँदा आजको यस वृक्षरोपण कार्यक्रमको उद्घाटन जामुनको विरुवा रोपेर गरेका थिए ।

चालु आ.व. मै उक्त क्षेत्रमा जामुन, अमला, सिसौ, खयर लगायत विभिन्न प्रजातिका करिब ३२ हजार विरुवा २० हेक्टर जमिनमा तारवार गरी रोपिने भएको हुँदा यस अवसरमा वरपर गाउँका सम्पूर्ण जनताहरुलाई वृक्षरोपण कार्यक्रममा सहभागी भई दिन धनुषाका डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले आव्हान गरेका थिए ।

कार्यक्रम उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधामका भू–संरक्षण अधिकृत बेचन कुमार महतोले सञ्चालन गरेका थिए ।

 
 
 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ